भेरीगंगा, मंसिर २५ -स्थानीय सरकार संचालन ऐन २०७४ ले नगरपालिका अधिकार तथा वित्तिय अधिकार क्षेत्रमा नगरभित्र संचालन हुने सबै किसिमका व्यवसाय अनिवार्य दर्ता, घरजग्गा बहाल कर, व्यवसाय कर, सेवा शुल्क लिने अधिकार दिएको छ । भेरीगंगा नगरपालिकाको आर्थिक ऐन २०७९ को दफा ५ ले व्यवसाय दर्ता, नविकरण अनिवार्य र सोही अनुसार कर तिर्नुपर्ने व्यवस्था गरेको छ । आर्थिक ऐनमा शिक्षा, प्रशिक्षण, तालिम संचालन गर्ने सस्था, व्यक्ति, संघले ५ हजारदेखि १५ हजार व्यवासाय दर्ता शूल्क र बार्षिक नविकरणका लागि एक लाख भन्दा माथि प्रतिलाख २०० का दरले नविकरण शुल्क बुझाउनुपर्छ । तर भेरीगंगा नगरका विभिन्न वडामा संचालित तेक्वान्दो प्रशिक्षणहरु कानुनी प्रक्रिया नपुर्याई संचालन भएको पाएको छ ।


प्रशिक्षार्थीसंग मासिक एक हजारदेखि तीन हजार रुपैँयासम्म रकम असुलेर संचालित यस्ता तेक्वान्दो प्रशिक्षणहरुले वडा, नगरमा व्यवसाय दर्ता नगरेको, कार्यालय नराखेको, कुनै शाखा दर्ता नगरेको, घर वा हलभाडा सम्झौता र बहाल कर नतिरेको पाएको छ । विद्यालय र खुल्ला सरकारी जग्गामा प्रशिक्षण तथा तालिम दिँदा पनि अनुमती लिनुपर्ने र आवश्यक कानुनी प्रक्रिया पुर्याएर संचालन गर्नुपर्नेमा अवैध रुपमा चल्दै रकम असुलेको पाएको छ । भेरीगंगा उद्योग व्यवासया शाखाका चित्रा डाङ्गीले अहिलेसम्म नगरमा तेक्वान्दो तथा खेलकुद प्रशिक्षण गराउने सस्था, व्यक्ति, संघसस्था दर्ता गरेको र शाखा दर्ता गरेको रेकर्ड नरहेको बताईन् । नगरको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गजेन्द्र जिसीले खेलकुद गतिविधी, प्रशिक्षण, तालिम संचालन गर्ने क्लव, सस्था, व्यक्ति, संघ दर्ता, नविकण र अनुमतीका लागि नआएको बताए । व्यवसायीक रुपमा दैनिक, मासिक तालिम प्रशिक्षण गरेवापत मासिक रकम उठाउने तेक्वान्दो प्रशिक्षणहरु अवैध चल्दासमेत नगरपालिकाले खेलकुद ऐन ल्याउन सकेको छैन् । भेरीगंगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष विरबहादुर बस्नेतले वडाभित्र खेलकुद चलाउन, प्रशिक्षण तालिम दिन, संघ, क्लव शाखा दर्ता र सिफारिस माग्न समेत कोही व्यक्ति सस्था नआएको बताए ।


भेरीगंगा नगरको वडा नम्बर ९,१०,१२,११,१३,४ वडामा विभिन्न व्यक्ति र स्थानीय तेक्वान्दो दोजाङ्ग नाममा प्रशिक्षण र रकम असुली भैईरहेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका ईन्चार्ज प्रहरी निरीक्षण रमेश राईले नगरभित्र अवैध खेलसंग सम्बन्धित तालिम, प्रशिक्षण भएको बारेमा प्रहरीमा कुनै जानकारी, सूचना र उजूरी नआएको बताए । प्रहरीका अनुसार यस्ता अवैध खेलकुद, तालिम, प्रशिक्षण गरेको जिल्ला प्रशासन, जिल्ला प्रहरीमा उजूरी परेमा प्रशिक्षण, तालिम संचालन गर्ने व्यक्तिलाई सार्वजनिक मुद्धा चलाउन सकिन्छ । यस्ता कार्य गर्ने व्यक्तिलाई सार्वजनिक अपराध र सजाय ऐन २०२७ अनुसार जरिवाना र कारवाही हुने प्रावधान रहेको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतका सदस्यसचिव जगत प्याकुरेलले जिल्लामा अहिलेसम्म जिल्ला तेक्वान्दो संघमा स्थानीय डोजाङ्ग दर्ता गर्ने र डोजाङ्गबाट तेक्वान्दो कोचको तालिम लिएको व्यक्तिले प्रशिक्षण दिने गरेको पाएको बताए । तेक्वान्दो कोच तालिम नलिएको, डोजाङ्ग हुँदै जिल्ला तेक्वान्दो संघमा आवद्ध नभएको र स्थानीय सरकारको ऐन, कानुन, नियमविपरीत प्रशिक्षण, तालिम चलाउनु गैरकानुनी भएको बताए । खेलकुद एकेडेमी, दोजाङ्गमा सदस्यता लिएका व्यक्तिलाई मात्र तालिम लिन पाउने व्यवस्था भएपनि यस क्षेत्रमा साना ४ बर्षदेखि माथिका बालबालिकालाई खेलमा सहभागी बनाई मासिक व्यवसायीक रुपमा रकम असुल्ने गरिन्छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद सस्था, व्यक्ति, संघ नेपाल सरकारको स्वीकृत लिनुपर्ने, खेलकुद गतिविधी चलाउँदा स्वीकृत लिनुपर्ने र त्यसो नभएमा सरकारवादी मुद्धा चल्ने उल्लेख छ ।


कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ परिच्छेद ६ को दफा २८ (१,२,३) ले स्थानीय तहमा खेलकुद सम्बन्धित कार्य, प्रतियोगिता संचालन, संघसस्था दर्ता, नविकरण, खारेजी, सम्बद्धता स्थानीय तहको कानुन बमोजिम हुने उल्लेख छ । एक स्थानीयतह भन्दा बाहिर र जिल्लास्तरमा खेलकुद, प्रशिक्षण, तालिम गर्दा प्रदेश परिषदमा दर्ता गर्नुपर्ने र आवद्धता लिनुपर्ने व्यवस्था छ । दर्ता नगरी र आवद्धता नलिई खेलकुद क्रियाकलाप संचाmलन गर्न नपाईने र त्यस्तो पाएमा कानुन बमोजिम कारवाही हुने उल्लेख छ । अहिलेसम्म कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा यस्ता तेक्वान्दो प्रशिक्षण गर्ने व्यक्ति, सस्था, क्लव दर्ता भएका छैनन् । भेरीगंगा नगरपालिकामा छिन्चु तेक्वान्दो दोजाङ्गका नाममा प्रतियोगिता भईरहेको विभिन्न सामाजिक संजालमा गतिविधी देखिने गरेका छन् भने विभिन्न वडाका विद्यालय, खुल्लाचौरमा विहान, साँझ तेक्वान्दो प्रशिक्षण गराएको देखिने गरेका छन् ।