सुर्खेत, मंसिर १९ -भेरीगंगा नगरपालिका वडा नम्बर १ वडासचिव प्रताप अधिकारी र २ का सचिव भाष्कर रावत वडामा नगएको तीन महिना पुग्यो । वडाबासीले बर्षात लागेको भदौदेखि राम्रोसंग सचिवको अनुहार र दर्शन भेट पाएकै छैनन् । कार्यालय सहयोगीले वडा कार्यालय खोल्छन् र बन्द गर्छन् । वडा नम्बर १ का वडाअध्यक्ष दिनेश पुलामी मगर र २ का वडाअध्यक्ष चिरीञ्जीवी बुढा भेट्न वडाबासी नगरपालिका रहेको छिन्चुबजारमा पुग्नुपर्छ । चुनावी प्रचारमा वडामा भेटिएका अध्यक्षहरु अन्यबेला छिन्चुबजार, नगर आसपास र वडाको भाडाको सटरमा भेटिन्छन् ।


नगरपालिका छेउँमै मासिक चार हजार भाडाको सटरमा दिनभर मोबाईल चलाउँदै बसेको अवस्थामा सचिव र वडाअध्यक्ष भेटिने गरेको सेवाग्राहीको गुनासो छ । हामी काम परेमा वडामा सचिव र अध्यक्ष खोज्छौ, तर उनीहरु बजाको सटर र नगरपालिका आसपासमा दिनभर मोबाईल चलाएर बस्ने गरेको वडा नम्बर २ बाट चार घण्टा हिडेर छिन्चु आईपुगेको एक सेवाग्राहीले भने । सचिव र वडाअध्यक्ष मोबाईल चलाउँदै घाम तापेर बस्छन्, वडामा नबसेर हामीलाई सास्ती भयो, उनले भने । गाउँका वडा कार्यालयमा हुनुपर्ने टेबुल, कुर्सी, दराज, ईन्टरनेट शहरमा भाडा लिएर जोडिएको छ । बर्षात लागेदेखि वडा नम्बर १ टाकुरी वडा नम्बर २ कालपानीका जनताले सचिवको दर्शन पाउन सकेका छैनन् ।

वडाअध्यक्षहरु पनि भाडाको सटरमा सेवाग्राही बोलाउने गर्छन् । वडा नम्बर १ का वडाअध्यक्ष पुलामीमगरले सचिव वडामा नआएको दुई महिना भएको बताए । बर्षात लागेदेखि सबै काम बजारतिर हुने गरेको उनले भने । यहाँबाट नगरपालिका आउन पैदल पाँच घण्टासम्म लाग्छ भने अटोमा आवतजावत करिव सात सय रुपैँया लाग्छ । वडा नम्बर २ बाट छिन्चुसम्म पैदलयात्रा करिव चार घण्टा लाग्छ भने अटोभाडा चार सय रुपैँयासम्म खर्च हुन्छ । वडा नम्बर २ का वडाअध्यक्ष बुढाले भदौ महिनादेखि सचिव नियमित आउन नसकेको बताए । वडामा बत्ती, नेट, फोन समस्याले बजारमा भाडामा कोेठा लिनु परेको उनको भनाई छ । नगरपालिकाले सबै वडामा सोलारबत्ती, ईन्टनेट, बत्तीलाईन, ब्याट्रीब्याकअप जडान गरिदिएको छ ।


वडा नम्बर १ र २ वडासम्म आवतजावत गर्ने सडक कच्ची, पहाडी भुगोलका कारण कार्यालयमा सचिव, अध्यक्ष दैनिक जानै मान्दैनन् । वडासचिवहरु विरेन्द्रनगर सुर्खेतमा बस्ने हुँदा वडा नजिकै भाडामा बस्न रुचाउँदैनन् । विहान विरेन्द्रनगरबाट मोटरसाईकलमा आउने र दिउँसो उतै फर्कन सहज हुनेभएपछि बजारमै घाम ताप्दै, मोबाईल चलाउँदै बस्ने गरेका छन् । सचिव वडामा नआउने भएपछि वडाअध्यक्षहरु पनि कार्यालय समयमा दिनभर नगरको छिन्चु र नगरपालिका कार्यालय आसपासमा भेटिन्छन् । नगरपालिकाले बजार र नगरपालिका क्षेत्रमा कर्मचारी, वडालाई कार्यालय र घरभाडा चलाउन बन्द गरेपनि दुई वडाले मासिक चार हजारमा सटर प्रयोग गर्दै आएका छन् । वडा सरकार शहर, बजारमा बस्दा वडाबासीलाई वडाको सामान्य काम गर्न पनि घण्टौ पदैल यात्रा र सँयौ रकम खर्च गर्नुपर्ने बाँधयता छ ।