सुर्खेत, मंसिर १४ – भर्खरै सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनपछि सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले मतदातालाई धन्यवाद दिन र बधाई र्याली सम्बोधन गर्न हेलिकप्टर प्रयोग गरेका छन् । उनले सोमबार, मंगलबार र बुधबार गरि तीन दिन सुर्खेत क्षेत्र नम्बर १ को पाँच वटा पालिकामा हेलिकप्टर प्रयोग गरेका हुन् ।


आफ्नो निर्वाचन क्षेत्रका विकट वडा, पालिका र नेपाली कांग्रेस निर्वाचन परिचालन समितिले आयोजना गरेको धन्यवाद तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्न हेलिकप्टर प्रयोग गरेका हुन् । तीन दिनसम्म खड्काले चिंगाड गाउँपालिका, सिम्ता गाउँपालिका, भेरीगंगा नगरपालिका र लेकबेशी नगरपालिकाका पहाडी क्षेत्रका वडा र बस्तीमा हेलिकप्टर प्रयोग गर्नुभएको नेपाली कांग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिँहले बताए । अहिलेको गठबन्धन सरकारको संयोजक र पार्टी उपसभापति समेत रहेका खड्का राजधानी काठमाण्डौ छिटो फर्कनुपर्ने भएकाले हेलिकप्टर प्रयोग भएको उनको भनाई छ । उपसभापति खड्का चुनावी प्रचारप्रसारमा गाडीमा र पैदल हिड्ने र जितेपछि हेलिकप्टर प्रयोग गरिएको भन्दै आलोचन समेत भैईरहेको छ ।

खड्का निर्वाचितपछि आफ्नो निर्वाचन क्षेत्रका सबै पालिकाका वडावडामा पुगेर मतदातालाई धन्यवाद र बधाई कार्यक्रमलाई सम्बोधन गरि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाण्डौ फर्केका छन् । खड्काले १६ स्थानमा हेलिकप्टर चढेर भेटघाट र बधाई कार्यक्रममा सहभागीता जनाएका छन् ।