सुर्खेत १ मा गठबन्धन मत क्रस नभए जित निश्चित, दश हजार अन्तर अनुमान

भेरीगंगा, मंसिर १- आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै गर्दा मत क्रस नभए गठबन्धनको जित निश्चित बनेको छ । पाँच गठबन्धन दलको मत मतान्तरण नभए दश हजार बढी मतले जित निश्चित भएको निष्कर्श निकालेका छन् । स्थानीय चुनाव २०७९ को मतपरिणाम हेर्दा प्रतिस्पर्धीभन्दा आठ हजार बढी मतले गठबन्धन अगाडी देखिएको छ ।

सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट धु्रवकुमार शाहीसँग उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेबीच भएको वामगठवन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका धु्रवकुमार शाहीले तीन हजार तीन सय ७४ मतले विजयी भएका थिए । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष र पालिकाहरुमा प्राप्त गरेको मत परिणाम हेर्ने हो भने सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस आठ हजार मतले अगाडी देखिन्छ । स्थानीय तह मतलाई आधार मान्ने हो भने सुर्खेत–१ मा कांग्रेस पहिलो शक्ति हो । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३६ हजार नौ सय २८ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेले ३४ हजार आठ सय ४३ मत प्राप्त गरेको छ । माओवादीले पाँच हजार ७५, राप्रपाले ६ सय ६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत प्राप्त गरेको छ । यो मत परिणामलाई हेर्ने हो भने कांग्रेस–माओवादी र समाजवादीको गठबन्धन मत जोड्दा प्रतिनिधी सभामा खड्काको पक्षमा ४२ हजार ६ सय ३७ मत देखिन्छ । जुन मत एमालेको भन्दा सात हजार सात सय ९४ बढि हो । गठवन्धनमा गढबढ नभए खड्काले स्वत चुनाव जित्ने देखिन्छ । गठबन्धन मत सबै खसे खड्काले १० हजार अन्तरले चुनाव जित्ने र क्रस भएपनि कम्तीमा पनि आठ हजार अन्तरले चुनाव जित्ने कांग्रेस, माओवादीका नेता, कार्यकर्ताको निष्कर्श देखिन्छ । प्रदेशसभामा पनि दुई क्षेत्र चार हजार बढी मतान्तरले जित्ने गठबन्धनको आकलन रहेको छ ।

यो क्षेत्रका दुई प्रदेशसभातर्फ प्रदेश १ (क) मा नेपाली कांग्रेसका खड्क पोखरेल र (ख) मा माओवादीका कृष्ण जिसी उम्मेदवार बनेका छन् । एमालेले (क) मा पूर्व माओवदीसमेत रहेका ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार छन् । पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज छ भने, जिसीका लागि कांग्रेस निर्णायक छ । गठबन्धनको मत क्रस नभए पोखरेलले चार हजार बढी र जिसीले तीन हजार पाँच सय मत अन्तरले चुनाव जित्ने दावी गठबन्धनको रहेको छ । गठवन्धनभन्दा कमजोर देखिएको एमालेका विष्ट र शर्मालाई गठवन्धन मत चोर्न र क्रस गराउन नसके हार्ने निश्चित छ । स्थानीय तहको जस्तै यो क्षेत्रमा गठवन्धनका लागि भोट ट्रान्सफर समस्या देखिन्छ । माओवादीका भोट कांग्रेसमा जाने तर कांग्रेसका भोट माओवादीमा नजाने दावी एमालेको रहेकोले यसपाली गठबन्धनका नेता, कार्यकर्ता, उम्मेदवार बढी चनाखो रहेको देखिन्छ ।