भेरीगंगा, मंसिर १- मंसिर ४ को चुनावी मतदान दिन नजिकदै गर्दा सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा र प्रदेश सभा उम्मेदवारको हारजितको लेखाजोखा उम्मेदवार, मतदाता र पार्टीहरुले सूरु गरेका छन् । २०७४ को चुनावमा माओवादीसंगको गठबन्धनबाट प्रतिनिधीसभा र प्रदेशसभामा विजयी नेकपा एमालेमा अहिले एकल चुनावी मैदानमा रहेको छ । निर्वाचन क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ताले प्रतिनिधीसभाको जितको आशा नरहेको बताएका छन् भने प्रदेशसभा अन्तर्गत क मा केही सम्भावना र प्रदेशसभा ख मा जित निश्चित भएको दावी गर्ने गरेका छन् ।


एमालेबाट यहाँबाट प्रतिनिधीसभामा धुर्वकुमार शाही, प्रदेशसभा क मा ठम्मरबहादुर विष्ट र प्रदेशसभा ख मा डण्डिप्रसाद शर्मा चुनावी मैदानमा छन् । शाहीका प्रतिस्पर्धा नेपाली कांग्रेसका पूर्णबहादुर खड्कालाई पाँच गठबन्धनको साथ, राष्ट्रिय नेता र भावी प्रधानमन्त्रीको दावेदार भएकोले शाहीले जित्ने सम्भावना नरहेको एमालेका नेता कार्यकर्ताको निष्कर्श रहेको छ । शाहीले जित्दा भन्दा खड्काले जित्दा सुर्खेत र समग्र कर्णालीको विकास हुने उनीहरुकोे भनाई छ । २०७० को निर्वाचनमा गठबन्धन हुँदा एमालेका शाहीले ३६ हजार ७५१ र कांग्रेसका खड्काले ३३,३७७ मत ल्याएका थिए । प्रदेशसभा क मा माओवादीबाट एमालेका प्रवेशगरि उम्मेदवार बनेका विष्टको जितको सम्भावना रहेको एमालेको निष्कर्श छ । उनले यो क्षेत्रमा माओवादीको भोट काट्ने, एमालेको मत आउने र गुर्भाकोट नगरभित्र कांग्रेस र अन्य दलको मत आउने अनुमान एमालेको रहेको छ । विष्टले प्रदेशसभामा माओवादी सचेतक र सांसद बन्दा सिम्ता र गुर्भाकोटमा साना साना हजारौ विकास काम गरेको हुँदा पनि लोकप्रिय मत आउने आशा गरिएको छ । सिम्तामा एमालेको पपुलर भोट रहेको र विष्ट गुर्भाकोट निवासी भएकोले गठबन्धनको मत आउने बताईन्छ । प्रदेश सभा ख का उम्मेदवार डण्डिप्राद शर्माले चुनाव जित्ने निश्चित रहेको एमालेको निष्कर्श छ । उनका प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका कृष्णबहादुर जिसी छन् । उनलाई कांग्रेस तथा गठबन्धनका अन्य पार्टीको मत कम जाने र शर्माले मत तान्ने सक्ने आंकलन गरिएको छ । स्थानीय तह चुनावमा मेयर, उपमेयर मतमा तलमाथि भएजस्तै गठबन्धन मत एमालेलाई आउनेमा शर्मा ढुक्क देखिन्छन् । कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी रहेको प्रदेश ख मा मत एमालेमा आउने दावी छ । प्रदेश ख मा भेरीगंगा, लेकबेशी र चिङ्गामा एमालेको मत राम्रो छ ।


स्थानीय तहको निर्वाचन र २०७४ को निर्वाचन मतको तुलना गर्दा अहिले पाँच दलीय गठबन्धनको मत फरक धेरै देखिन्छ । एकल निर्वाचन मैदानमा रहेका एमालेले गठबन्धनको मत चोर्ने र मतदातालाई पार्टीपिच्छे मत फेरबदल गराउन सके जित्ने निश्चित सम्भावना रहेको बताउने गरेका छन् । गठबन्धनको मत ट्रान्सर्फर गर्न सके गठबन्धनका लागि ठुलै चुनौती हुने देखिन्छ ।