मतदाता फकाउन सुर्खेत क्षेत्र नम्बर १ का उम्मेदवार निरन्तर घरदैलोमा

भेरीगंगा, कार्तिक ३० -निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बनेका हुन् ।

दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका हुन् । सुर्खेतका स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको घरमा पुगेर मत मागिरहेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुर्खेत क्षेत्र नम्बर १ क का प्रतिनिधिसभा उम्मेदवार खड्गबहादुर पोखरेलले आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताए । चुनावी कार्यक्रमसँगै मतदातालाई भेट्न घरदैलो कार्यक्रममा व्यस्त रहेको पोखरेको भनाई छ ।

नेकपा (एमाले) को तर्फबाट प्रदेशसभा उम्मेदवार डण्डिप्रसाद शर्माले मतदातालाई भेट्न घरदैलो कार्यक्रम प्रभावकारी बनिरहेको बताए । आफू पहिलो पटक चुनाव लडेकाले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन घरदैलो गरेको उनको भनाई छ ।

उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरेका छन् । विगतमा चुनावी सभा, भेला तथा अनेक प्रचार शैली अपनाएका छन् । सुर्खेतका उम्मेदवार यसपटक मतदातालाई भिन्न शैलीमा फकाउने प्रयास गरिरहेका छन् ।