भेरीगंगा, कार्तिक २७ -नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधीसभा उम्मेदवार पुर्णबहादुर खड्काले पाँच बर्ष कांग्रेस पराजित हुँदा क्षेत्र नम्बर १ का बहुबर्षीय र ठुला आयोजना अलपत्र परेको बताए । यसअघि २०७४ को निर्वाचनमा कांग्रेसको प्रदेश, प्रतिनिधीसभामा पराजय र एमाले गठबन्धनको विजय हुँदा आफ्नो प्रयासमा आएका ठुला आयोजना रोकिएर अलपत्र परेको आरोप लगाए ।


मंसिर ४ को प्रतिनिधीसभा र प्रदेशसभाका लागि सुर्खेत क्षेत्र नम्बर १ का गठबन्धनद्धारा भेरीगंगाको छिन्चुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले एमालेले चुनाव जित्दा पाँच बर्षमा क्षेत्र नम्बर १ मा ठुला विकासे आयोजनाको काम नभएको र भैईरहेका योजना समेत अलपत्र परेको बताएका हुन् । आफु माननीय हुँदा सूरु गरेको रामघाट प्रादेशिक विमानस्थल, भेरीगंगा स्मार्ट सिटि, रामघाट दशरथपुर पक्की पुल, जहरे सिम्ता ऋषिराजमार्ग विस्तार कालोपत्रे, धुलियाविट घुईयावारी सडक कालोपत्रे, छिन्चु काल्चे सडक, छिन्चु जाजरकोट सडक स्तरोउन्नतीलगायत सिँचाई, खानेपानी, सडक विस्तारका काम अलपत्र परेको उनको भनाई थियो । “एमालेले पाँच बर्ष जित्दा क्षेत्र नम्बर १ को विकास दश बर्ष पछि धकलिएको छ,“उनले भने, “अव यहाँको विकास गर्न र पुराना अधुरा काम पुरा गर्न गठबन्धन सरकार जित्न आवश्यक छ ।” सुर्खेत र समग्र कर्णाली प्रदेशको विकास गर्न प्रदेश र प्रतिनिधीसभा जित्न जरुरी रहेको भन्दै खड्काले गठबन्धनका उम्मेदवारलाई मत खसाल्न आग्रह गरे । कर्णाली प्रदेशमा कुनै एक पार्टीले मात्र गठबन्धनमा हार्दा सिँगो गठबन्धन सरकार अपाङ्ग हुने उनको भनाई थियो ।


चुनावी प्रचार सभामा क्षेत्र नम्बर १ ख का प्रदेशसभा उम्मेदवार माओवादीका कृष्णबहादुर जिसी र प्रदेश क का उम्मेदवार कांग्रेसका खड्गप्रसाद पोखरेलले गठबन्धनको विजय नै अवको अहिलेको अपरिहार्य भएको बताए । मंसिर ४ मा गठबन्धनका उम्मेदवारलाई मत दिन उनीहरुको आग्रह गरे ।