सुर्खेत, कार्तिक २२- नेपाली कांग्रेस उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधी सभा उम्मेदवार पुर्णबहादुर खड्काले मंसिर ४ को चुनावका लागि बनेको गठबन्धन नभई केपी ओली प्रवृद्धि विरुद्ध बनेको गठबन्धन भएको बताए । लोकतान्त्रिक बाम गठबन्धन एमालेसंग हारको डरले नभई सरकारमा हुँदा ओलीतन्त्रको प्रतिगमन विरुद्ध बनेको गठबन्धन भएको भने ।


आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रसारलाई सम्बोधन गर्ने क्रममा उपसभापति तथा उम्मेदवार खड्काले चुनावका लागि मात्र नभई यो गठबन्धन चुनावपछि बन्ने संयुक्त सरकारसम्म पनि जारी रहने बताए । गठबन्धन विरोधी पार्टीले चुनावमा हार मानसिकताले बनेको गठबन्धन भन्ने हल्लाको पछि नलाग्न र गठबन्धन सरकार बन्नुको औचित्य र यर्थात बुझ्न आग्रह गरे । गठबन्धन उम्मेदवारका विषयमा मतदातामा परेको भ्रम चिर्न घरदैलोमा तीव्रता दिन खड्काले नेता कार्यकर्तालाई निर्देशन दिए । केपी ओली प्रधानमन्त्री हुँदा संविधान, कानुनको धज्जी र चिरहरण गर्दा त्यसको प्रतिकारमा बाध्यताबस बनेको गठबन्धन चुनाव र चुनावपछि पनि आवश्यकता बनेको उनको भनाई छ । निर्वाचनपछि बन्ने प्रतिनिधी र प्रदेश नँया सरकार पनि गठबन्धनबाटै बन्ने उनले प्रष्ट पारे ।


देशको विकास र जुनसुकै प्रतिगमन, अस्थिरता चिर्न चुनावी गठबन्धन जरुरी रहेको उपसभापति खड्काको भनाई छ । सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका खड्का यतिबेला सुर्खेत र कर्णाली प्रदेशमा चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् ।