सुर्खेत, कार्तिक १७- एउँटा मात्रै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु दोहोरिने र एमालेका उम्मेदवार विगतको पराजीतलाई उल्टाउने रणनितीमा देखिएका छन् । जाजरकोटका प्रभावशाली नेता तथा गठबन्धनका उम्मेदवार शक्तिबहादुर बस्नेत र राजिव विक्रम शाह निर्वाचित भएर दोहोरिने दौडमा छन् । बस्नेत र शाहका प्रतिद्धन्द्धी मानिएका नेकपा एमालेका उम्मेदवार निरज आचार्य र डम्बरबहादुर सिंह २०६४ र २०६८ को पराजयलाई उल्टाएर जित्ने रणनितीमा देखिएका छन् ।


सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । सत्ता गठबन्धनबाट प्रदेश ’क’ मा नेपाली कांग्रेसबाट वेदराज सिंह र प्रदेश ’ख’ बाट नेपाली कांग्रेसका राजिव विक्रम शाह उम्मेदवार रहेका छन् । माओवादीका प्रभावशाली नेता बस्नेत चौथोपटक जाजरकोटमा निर्वाचित हुने होडमा छन् । उनी २०६४, २०६८, २०७४ मा निर्वाचित भएका थिए । राजीव विक्रम शाह २०६८ सालमा निर्वाचत भएभने २०७४ मा पराजीत भएका थिए । कांग्रेसका प्रभावशाली नेता कहलिएका शाह प्रदेशसभाबाट प्रदेश मुख्यमन्त्रीको लाईनमा छन् । जाजरकोटमा बस्नेत र शाहीको चर्चा अलि बढी हुने गरेको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा पार्टी केन्द्रिय सदस्य निरज आचार्य, प्रदेश सभा ’क’ मा डम्बरबहादुर सिंह र प्रदेश ’ख’ मा खिमबहादुर शाही उम्मेदवार रहेका छन् । आचार्य र सिँह २०६४ र २०६८ मा एमालेबाट संसादको उम्मेदवार थिए । दुवै क्रमशः बस्नेत र शाहसंग पराजीत भएका थिए । सक्ता गठबन्धन र एमालेका उम्मेदवारबिच चुनावी टक्कर देखिएको छ ।


जाजरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा दीपक खनाल, प्रदेश ’क’ मा गणेश बटाला र प्रदेश ’ख’ मा कृष्णबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा राजबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा ’ख’ मा कृष्णबहादुर बुढा, प्रतिनिधिसभामा स्वतन्त्र रुपमा नरबहादुर कार्की, प्रदेश सभा ’क’ मा कमान बहादुर खड्का उम्मेदवार रहेका छन् । जाजरकोटमा स्वतन्त्रसहित १४ जनाको उम्मेदवार निर्वाचनमा भाग लिएका छन् ।