छिन्चुदेखि गुर्भाकोटको पाखरेसम्म चारलेन सडक बन्दै, एक अर्व २२ करोडको ठक्का

भेरीगंगा, असोज २९- कर्णाली प्रदेशकै सबैभन्दा लामो चारलेन सडक खण्ड भेरीगंगा र गुर्भाकोट नगरभित्रको छिन्चु जाजरकोट सडक खण्डमा निर्णण हुने भएको छ । ठेक्का प्रक्रियामा रहेको छिन्चु जाजरकोट चारलेन सडक विस्तार योजना चालू आर्थिक बर्षमा बहुबर्षीय योजनाको रुपमा प्रक्रिया सूरु भएको छ । आयोजना अनुसार भेरीगंगाको छिन्चुदेखि गुर्भाकोटको पोखरेसम्म झण्डै २५ किलोमिटर सडक खण्ड चारलेन सडक निर्माण हुने भएको हो ।

बहुबर्षीय योजना अन्तर्गत चारलेन सडक निर्माणका लागि चालू आर्थिक बर्षमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय सुर्खेतमार्फत १ अर्व २२ करोडको टेण्डर सुरु भएको छ । भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिका अन्तर्गतको भेरी उपत्यकाको बीचबाट ‘फोर लेन’ सडक निर्माणको प्रक्रिया सुरु भएसंगै कर्णाली प्रदेशकै लामो चारलेन सडक विस्तार हुने भएको हो । २०७९ भदौ १४ गते चारलेन सडक निर्माणको लागि सडक विभागले टेन्डरको सूचना समेत निकालेको छ । छिन्चुको तोलीखोला पुल हुँदै बोटेचौर पोखरेसम्मको सडक चारलेन बन्ने गरि काम सूरु भएको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले बताउनुभयो ।

तत्कालिन सुर्खेत क्षेत्र नम्बर १ का सभासद तथा कांग्रेस नेता पूर्णबहादुर खड्काको पहलमा अर्थ मन्त्रालयले २०७४ कात्तिक १५ गते बजेट व्यवस्था गरेको थियो । मन्त्रालयले २०७४ कात्तिक १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बजेटको सीमाभित्र रही कार्य अघि बढाउन सहमति प्रदान गरे अनुसार चालू आवबाट निर्माणले प्रक्रिया सूरु भएको मेयर पुनले भन्नुभयो । यो सडक निर्माण पूरा भए पुर्वी सुर्खेतको विकासमा फड्को मार्ने छ ।

नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काले बजेट छुट्याएको ५ वर्षसम्म पनि जहाँको तहिँ रहेको सडक निर्माण कार्यलाई अघि बढाउन निकै मिहिनेत गर्नुपरेको बताउनुभयो । सडक विभागले गत भदौ १४ गते सडक निर्माणको लागि टेन्डर आह्वान गरेको र अब छिन्चुदेखि सहारेको सिमघाटसम्म सडक चारलेन हुने खड्काको भनाई छ ।

यो सडकलाई पूर्वी सुर्खेतको भेरी किनारमा निर्माण हुन लागेको स्मार्ट सिटीको मेरुदण्डको रुपमा हेरिएको छ ।