गुर्भाकोट, असोज ११ -भेरीगंगा उपत्यका नमुना आधुनिक शहर स्मार्ट सिटिको सम्पर्क कार्यालय गुर्भाकोट नगरको मेहेलकुनामा स्थापना गरिएको छ । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले मंगलबार एक कार्यक्रमका बिच भेरीगंगा स्मार्ट सिटिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।


पुर्वी सुर्खेतका भेरीगंगा, गुर्भाकोट र लेकबेशी समेटेर तयार पारिने भेरीगंगा आधुनिक स्मार्ट सिटि निर्माणको कार्य तयारी सूरु भएसंगै कार्यालय स्थापना भएको हो । संघीय सरकारले चालू आर्थिक बर्षको बजेट भाषणमै आधुनिक स्मार्ट सिटि निर्माणका लागि बजेट विनियोजन गरेसंगै यसको प्रक्रिया सूरु भएको हो । कार्यालय उद्घाटन गर्दै मेयर पुनले कार्यालय स्थापनासंगै गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरपालिकामा भेरी किनार वारिपारीका बस्तीलाई समेटेर एउटा सुन्दर पर्यटकिय शहरको परिकल्पना निर्माणको सूरुवात भएको बताउनुभयो । कार्यालय स्थापनाले मार्ट सिटीको निर्माण सूरु भएको र यसले दुर भबिष्यमा भेरी करिडोर अन्तर्गत सिम्तादेखि पश्चिम घाटगाउसम्म शहरको रुपमा बिकास गर्दै सुर्खेतलाई पर्यटकिय गन्तब्यको रुपमा परिचित बनाउने दावी गर्नुभयो । शहरी विकास मन्त्रालय अन्तर्गत पुर्वी सुर्खेतका तीन पालिकाका भेरी नदि क्षेत्रका शहर र बस्ती समेटेर बन्ने आधुनिक स्मार्ट सिटिले आगामी आर्थिक बर्ष २०७९।०८० बाट काम अगाडी बढ्ने गरि काम थालिएको छ । सरकारले बजेट भाषणमै कार्यालय, कर्मचारी व्यवस्थापनका लागि चालू बर्षमा ९ करोड ४४ लाख बजेट विनियोजन गरिसकेको छ । पहिलो चरणमा भेरी नदि क्षेत्र स्मार्ट सिटिका लागि शहरी विकास मन्त्रालयबाट १९ जना कर्मचारीको दरबन्दी तयार भएको छ ।


चालू आर्थिक बर्षको मंसिरदेखि नै आधुनिक स्मार्ट सिटिका लागि कर्मचारी र कार्यालय व्यवस्थापन तयारी हुने छ । भेरीगंगा ‘स्मार्ट सिटी’ निर्माणका लागि यसअघि नै डिपिआर र दीर्घकालिन योजनाहरु अघि सारेको छ । वि.स. २०७१ सालमै भेरी आधुनिक शहर निर्माण गर्ने उदेश्य रामघाट, छिन्चु, मैनतडा, दशरथपुर, मेहलकुना लगायतलाई समेटेर यस अघि स्मार्ट सिटीको अध्ययन गरिएको थियो ।