टेकेन्द्र बस्याल, असोज ३- गत बर्ष चैत २५ गते भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा राष्ट्रिय भूमी आयोग सुर्खेतले कोटमाँझखर्क अन्तर्गत पहिलो चरणमा वितरण गरेका जग्गाको लालपुर्जाले कानुनी मान्यता पाएका छन् । आयोगले २०७८ चैत २५ गते वितरण गरका सबै लालपुर्जाले कानुनी मान्यता पाई नामसारी, बैकिङ्ग कारोवार, धितो कायम, रोक्का र हक हस्तान्तरण गर्न योग्य भएका हुन् ।


यसअघि भूमि आयोगले पुर्जा वितरण गरेपनि भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्देशन नदिएको भन्दै मालपोत कार्यालय मेहेलकुनाले श्रेस्ता कायम गर्न रोक्दा वितरित पुर्जाले कानुनी मान्यता पाउन सकेका थिएनन् । यही असोज २ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालय मेहेलकुनासंगै राष्ट्रिय भूमि आयोग, मालपोत कार्यालयलाई समेत निर्देशन गरेपछि वितरण भएका लालपुर्जाको श्रेस्ता कायम बाटो खुलेको हो । मालपोत कार्यालय मेहेलकुना प्रमुख विमल आचार्यले मन्त्रालय र विभागबाट असोज २ गते निर्देशन आएको र असोज ४ गतेबाट भूमि आयोगले बाँडेका लालपुर्जाको श्रेस्ता कायम हुने बताउनुभयो । वितरित सबै पुर्जा मालपोतको एलआरएमएस सफ्वेएरमा ईन्टी भएपछि ती लालपुर्जाको नामसारी, धितो, बँैक कारोवार ,रोक्का, हक हस्तान्तरण गर्न सकिने आचार्य भन्नुभयो । असोज ४ गतेबाट मालपोतले जग्गाधनीको कम्प्युटरमा दाँयाबाँया औठाछाँप, फोटो खिचिन्छ त्यसपछि कानुनी प्रक्रिया पुरा हुने आचार्यको भनाई छ । सरकारले अहिले जग्गाको कितकाँट रोकेको हुँदा यी लालपुजाको किताकाँट बाहेक नामसारी, धितो, बैकको, रोक्का, हक हस्तान्तरण मान्यता प्राप्त गरिसकेका छन् । मालपोत मेहेलकुनाले लालपुर्जा श्रेस्ता कायम काम दशै अगाडी सक्ने गरि गुर्भाकोट, भेरीगंगा नगरपालिकासंग समन्वय गरि साँझ, विहान काम गर्ने भएको छ । गत चैत २५ गते गुर्भाकोटमा ३४ र भेरीगंगा नगरपालिकामा १०२ जना गरि १३६ जनालाई लालपुर्जा वितरण गरिएको थियो । पहिलो चरणमा राष्ट्रिय भुमि आयोगले कोटमाझखर्क अन्तर्गत जग्गाधनीका लालपुर्जा वितरण भएको थियो । राष्ट्रिय भुमि आयोग केन्द्रिय अध्यक्ष केशव निरौलाले भेरीगंगाको वडा नं. ८ का १०२ जना व्यक्तिहरुलाई पुर्जा वितरण गरेका थिए ।


राष्ट्रिय भूमि आयोग सुर्खेतले गुर्भाकोट नगरपालिकाको साविक कोटमाझर्खक गाविस वडा नम्वर ३,६,र ७ का ३४ जग्गा धनिलाई पुर्जा वितरण गरेको थियो । वितरण गरीएका पुर्जाहरुको श्रेष्ता मालपोत कार्यालय मेहेलकुनामा बुझाउने र छिट्टै श्रेस्ता मोठ कायम गरिने भएपनि अहिलेसम्म भएको थिएन् । सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । जग्गाधनी पुर्जा नहुँदा यहाका बासिन्दा विद्युत्, बैंकिङ सेवा उपभोग गर्नबाट बञ्चित भएका थिए । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले निर्वाचन आयोगले आयोगले लालपुर्जा वितरण रोक्ने भनेपनि कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको पहलमा मन्त्रीपरिषद्को निर्णय अनुसार वितरित पुर्जाको श्रेस्ता कायम गराउन सफल भएको बताउनुभयो । यतिबेला म पनि काठमाण्डौमा छु, सबैको पहल, अग्रसरतामा स्थानीय सरकारमा हुँदा बोलेको वचन र वाचा अहिले पुरा भएको उहाँको भनाई छ । नेपाल सरकार मन्त्रीपरिषद्स्तरको भदौ १७ को निर्णय बमोजिम भूमि व्यवस्था मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभाग लालपुर्जा वितरण भई कार्य सम्पन्न भएका जग्गाहरुको श्रेस्ता अभिलेख कायम गर्न राजी भएका हुन् । यो निर्णय र निर्देशनसंगै साविक सुर्खेत जिल्ला कोटमाझखर्क गाविस हाल भेरीगंगा, गुर्भाकोट अन्तर्गत पर्ने मेहेलकुना, सहारे, धारापानी, मैनतडाका नापीको समयमा नापनक्सा भई फिल्डबुकमा जग्गाधनीको नाम उल्लेख भएका व्यक्ति, जग्गाधनीले लालपुर्जा पाउने र यसले कानुनी मान्यता पाउने बाटो खुलेको छ ।