गुर्भाकोट, भदौ २१- गुर्भाकोट नगरपालिका कार्यालय सुर्खेतले नगरभित्र अवैध र सडक अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना हटाउन सूरु गरेको छ । नगरपालिकाले मंगलबारदेखि गुर्भाकोट वडा नम्बर ६ बाट सडक क्षेत्रमा बनाएका अवैध संरचना र सडक अतिक्रमण गरिएका संरचना हटाउन थालेको हो ।


मंगलबार गुर्भाकोट वडा नम्बर ६ स्थित बडाखोली बजार चोकबाट अवैध संरचना सडकबाट हटाउन सूरु भएको वडाअध्यक्ष गोविन्द ओलीले बताउनुभयो । पहिलो दिन वडाको मुख्य बजारमा रहेको सडकमा रहेका मापदण्डका संरचना हटाएको हो । सडकमा मापदण्ड विपरीत बनाएका घरटहरा तथा संरचना सुरुमा सहमतीमा हटाउन प्रयास भएको वडाअध्यक्ष ओलीले जानकारी दिनुभयो । अवैध र सडक मिचेर बनाएका संरचना स्वस्फूर्त हटाई सडक फराकिलो र सवारी दुर्घटना हुन सक्ने संभावना न्यूनीकरण गर्न सहयोग गरिदिन नगर र वडाहरुले आग्रह गरेका छन् । पहिलो दिन वडा नम्बर ६ मा अवैध संरचना, घर टहरा हटाउन स्थानीय सहमतीमा आफैै लागेको पाएको छ । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले नगरभित्र सडक र बजार क्षेत्रमा बनाएका अवैध सरचना, घरटहरा हटाउने विषयमा नगरपालिका र वडाले व्यापारी, व्यवसायी र घरधनीलाई लिखित, मौखिक आग्रह गरिएको बताउनुभयो । धेरैजसो अवैध संरचना र घरटहरा सडक बजारबाट हटाउन नगरबासी आफै लागेकोले बल प्रयोगको अवस्था नआएको पुनले भन्नुभयो ।


अहिले विशेष गरि वडाको पहल र सक्रियतामा सहमतीमा संचना हटाउने काम भैईरहेको नगरपालिकाको भनाई छ । गुर्भाकोट नगरको मेहेलकुना, बोटेचौर, मालारानी, बडाखोली, गुमी, शिवनगर, दहचौर, शुभघाट क्षेत्रका स्थानीय बजारमा सडकबाटो मिचेर घरटहरा बनाएको पाएको छ ।