दिलिप ढकाल, गुर्भाकोट भदौ १९- गुर्भाकोट नगरपालिका वडा नम्बर ४ साहारे पोखरामा खोप तथा गाउँघर क्लिनिक संचालनमा आएको छ । गर्भवती, दीर्घरोगी, अपाङ्ग, अशक्त भएका स्थानिय लाई नजिकै सेवा सुबिधा दिने उदेश्यले खोप तथा गाउँघर क्लिनिक संचालना ल्याईएको हो ।


गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीका अनुसार आईतबारदेखि क्लिनिक संचालनमा आएको छ । उक्त क्लिनिकको गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले उद्घाटन गर्नु भएको थियो । बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै आफुले नगर सभामा क्लिनिक संचालन गर्नु पर्ने माग गरेको जानकारी दिनु भयो । गाउँघरमै क्लिनिक संचालित क्लिनिकबाट वडा नम्बर ४ सहित ५,६,र ७ का जनताले सेवा पाउने छन् । स्वास्थ्य चौकी साहारेमा कार्यरत कर्मचारीद्वारा संचालन हुने गरि हरेक बिहिबार चेकजाच तथा उपचार गरिने र जटिल समस्या भएमा थप उपचारको लागि बाहिर रिफर गरिने समेत उहाले जानकारी दिनु भयो ।


उद्घाटन कार्यक्रममा गुर्भाकोट नगर पालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरी, वडा नम्बर ४ का वडाअध्यक्ष राम बहादुर डाँगी, वडासदस्यहरु ज्ञानबहादुर डाँगी, कमला यरि, मिना बिक र स्वास्थ्य चौकी साहारेको ब्यबस्थापन समिति उपाध्यक्ष किरण वली लगायत स्थानीयको उपस्थिति रहेको थियो ।