सुर्खेत, भदौ ४- आगामी ंमंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन तयारी भएसँगै सुर्खेत क्षेत्र नम्बर १ ख को प्रदेश सभामा महेन्द्र नेपालीले उम्मेदवारी घोषणा गर्नुभएको छ । मंसिर ४ को चुनावमा अन्य दलका उम्मेदवारी चर्चापरिचर्चा सूरु हुँदै गर्दा सामाजिक अभियान्ता नेपालीले स्वतन्त्र रुपमा प्रदेश सभाका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

शनिबारदेखि सुर्खेत क्षेत्र नम्बर १ ख बाट प्रदेश सभामा आफूले उम्मेदवारी घोषणा गरेको नेपालीले बताउनुभयो । आईतबारदेखि प्रदेश ख को उम्मेदवारीका लागि आफ्ना एजेण्डा, घोषणा पत्र लिएर घरदैलो, प्रचार प्रसार सूरु हुने उहाँको भनाई छ । विगत १५ बर्षदेखि सुर्खेत र कर्णाली प्रदेश लक्षित सामाजिक अभियानका रुपमा सक्रिय महेन्द्र नेपालीले आफूले जनताका ससाना एजेण्डा, मुद्धा लिएर चुनावमा होमिएको दावी गर्नुभयो । कर्णाली प्रदेश अन्य प्रदेशभन्दा उपेक्षा र विभेदमा परेको, आफ्नो निर्वाचन क्षेत्रमा पनि विभेद, उपेक्षामा परेका समुदाय बढी भएकोले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उहाँले भन्नुभयो । नेपाली लेकबेशी नगरपालिका ६ निवासी हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवार महेन्द्र नेपालीको अपिल यस प्रकार रहेको छ ।।

नेपाली राजनीतिको अदूरदर्शिता, अर्कमण्यता र देश–जनतालाई केन्द्रमा राखेर राज्यसञ्चालन नहुँदा गम्भीर आर्थिक संकटमा फसेको विदितै छ । समग्र मुलुक आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको छ । देशको अर्थतन्त्र नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सको भरमा चलेको छ । उद्योगधन्दा, कलकारखाना र उद्यमशिलताको विकास नभएकोले गर्दा दैनिक करिब १४ सय श्रमशक्ति विदेश उड्न बाध्य छन् । यस्तो अवस्थाले नेपाली समाजमा विभिन्न प्रकारका थुप्रै खाले सामाजिक विचलन, विकृति, विसङ्गति र मानसकि समस्याले ग्रसित भइरहेको छ । यस्ता राष्ट्रिय समस्याहरुलाई राजनीतिक नेतृत्वले दीर्घकालिन समाधान खोज्नुको बदला सत्तास्वार्थ र मोजमस्तिमै लिप्त हुनु दुखद कुरा हो ।

राज्यसञ्चालनमा अनुशासन, पारदर्शिता, मितव्ययी र सदाचार नहुँदा नयाँ राज्यसंरचना बोझिलो बन्दै गइरहेको छ । आम जनताको जीवनस्तरमा परिवर्तन आउनुको साटो दिनप्रतिदिन थप कष्टकर बन्दै संङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको छ । अहिले प्रत्येक नेपालीको टाउकोमा ६८ हजार ऋणको भार बोक्नु परेको छ । राजनीतिक दलहरुले आजसम्म जनतालाई सपना मात्रै बाँडेर, जालझेल गर्दै सत्तामा गएर लुट मच्चाइरहेका छन् । तर जनतासँग गरेको वाचा भुल्ने चक्रिय राजनीति आजसम्म जारी रहेको छ । नेपाललाई नेपाल जस्तै बनाउन छोडेर सिङ्गापुर, हङ्कङ, अमेरिका, अष्टे«लिया बनाउँछौ भन्दै कोरा सपना बाँडेर सत्तामा उक्लिने भर्याङ बनाउने गरेका छन् । अशिक्षा, बेरोजगारी र जनचेतनाको अभावमा जनभावनामा खेलेर आजसम्म भोटको राजनीति हाबी भएको प्रष्टै छ । राजनीतिक दल, तिनका नेतृत्वलाई राम्रोसँग बुझेर अहिलेसम्म विवेकको मत प्रयोग हुनसकेको छैन । देशभक्ति, राष्ट्रभक्ति सँगसँगै जनताको आधारभूत आवश्यकताको सहज सेवा प्रदान आजसम्म भएको देखिँदैन । अर्थात् जनताको आधारभूत सेवा गाँस, बास, कपास, शिक्षा, रोजगार, औषधोपचार, न्याय, मानवअधिकार, शान्ति र सुरक्षाको प्रत्याभूतिका साथै सुनिश्चितता राजनीतिक दलहरुबाट भएको छैन । ०४६ साल यता प्रजातन्त्रको ३३ वर्ष पार हुँदासम्म उही पुरानै पात्र र प्रवृत्ति सत्तामा दोहोरिँदै आइरहेका छन् । शासनप्रणाली दश–दश वर्षमा फेरिए तापनि राज्यसञ्चालनमा पात्र फेरिएका छैनन् । त्यसैले नेपालको शासनप्रणालीमा तात्विक भिन्नता देख्न पाइएको छैन । नेपालका राजनीतिक दलहरुको एउटै उदेश्य जस्तोसुकै काम, कर्म गरेर भए तापनि सत्ताका लागि सत्ता मात्रै रहेको पाइन्छ । शासनप्रणाली प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र समेत सीमित वर्गका लागि मात्रै लुटको स्वर्ग बनेको छ । आम भुइँ मान्छे, गरिब, मजदूर, किसान, महिलाहरुका साथै पछाडि पारिएका वर्ग र समुदायका लागि जुनसुकै तन्त्रले जीवन परिवर्तन गर्न सकेको छैन ।

आदरनीय कर्नाली प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु,
तपाईहरुलाई म स्वतन्त्र उम्मेद्धवारको हैसियतले धेरै गर्न नसकुँला तर मेरो सुशासन, सदाचार, भष्ट्राचारप्रति निर्मम ढंङ्गले संसदमा प्रस्तूत हुनेछु । सदाचारीलाई पुरष्कृत, भष्ट्राचारीलाई दण्डित गरिनुपर्ने माग जोडदार रुपमा राख्नेछु । प्रदेश भित्रै उद्योगधन्दा, कलकारखान खोली श्रमशक्तिलाई रोजगारी दिने व्यस्थालाई जोड दिनेछु । समाजका रहेका कुरीति, कुसँस्कार, अन्धविश्वास तथा सामाजिक असमानतलाई वैज्ञानिक शिक्षा मार्फत निर्मूलीकरण गर्न पहल गर्नेछु । नवप्रर्वत र उद्यमशीलताको विकास मार्फत अध्ययनका साथै आविष्कारमा जोड दिन पहल गर्नेछु । म आफै भष्ट्रचार नगर्ने र अरुलाई समेत गर्न नदिने प्रतिवद्धता व्यक्त गर्दछु ।
समाजमा समानता, मानवता, भातृत्व, प्रेम, भाइचारा, शान्ति तथा मेलमिलापको वातावरण सिर्जनका लागि टोल–टोलमा सामूहिक समूहलाई परिचालन गर्नेछु । सामाजिक तथा पारिवारिक विचलनको रुपमा रहेको लागूपदार्थ, दुव्र्यसनी लगायत कुलतमा फसेकाहरुलाई बृहत् आयआर्जनमूलक कार्यक्रम सञ्चालनमा ल्याउनेछु । मेरो प्रदेश समृद्धिको आधारका लागि आफ्नो निर्वाचन क्षेत्रबाटै थालनी गर्नको लागि मेरा लागि यहाँहरुको प्रत्येक भोट मूल्यवान रहेको छ ।
त्यसका लागि हरेक भोट मूल्यवान भन्ने सिद्धान्तलाई ध्यानमा राखेर यसपटक मलाई अत्याधिक बहुमत सहित निर्वाचित गराई दिनुहुनको लागि अपिलका साथै विनम्रतावूर्वक आब्हान गर्दछु । अरुलाई पटक–पटक हेर्नुभयो, यसपटक महेन्द्रलाई हेर्नको लागि आफ्नो अमूल्य मत दिनुभइ सेवा गर्ने मौका दिनुहुन्छ भन्ने पूर्ण आशा, भरोसा र विश्वास लिइएको छु ।

आदरनीय कर्नाली प्रदेशवासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु,
समृद्ध प्रदेश तथा सुनौलो भविष्यका लागि आफ्नो अमूल्य मताधिकारको प्रयोग सही पात्र र नेतृत्वलाई दिनको लागि सही समयमा सही निर्णय लिन आवश्यक छ । मेरो निर्वाचन क्षेत्रका आम जनता सचेत तथा सचेत गराउनको लागि यस निर्वाचनमा स्वतन्त्र उम्मेद्धवार महेन्द्र नेपालीलाई अत्याधिक बहुमतले विजयी गराउनको लागि सादर अनुरोध एवम् अपिल गर्दछु । धन्यवाद ।