सुर्खेत, बैशाख २४- भेरीगंगा नगरपालिकाका गठबन्धनका मेयर, उपमेयर उम्मेदवारले साविक मैनतडा र रामघाटका ६ वडामा चुनावी घरदैलो सम्पन्न गरेका छन् । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सूरुवात मैनतडाका ४ वडाबाट गर्दै, रामघाटका २ वडा सकेर साविक छिन्चु र लेखपराजुल क्षेत्रमा घरदैलो जारी राखेको छ ।


भेरीगंगा वडा नम्बर ६,७,८,९, ११,१३ मा सुरुवात चरणमा मतदातासंग भेटघाट, घरदैलो, चुनावी प्रचार सकिएको हो । यस्तै नगर प्रमुख र उपप्रमुख उम्मेदवारले भेरीगंगा वडा नम्बर १२, ५, २ र १ वडामा पनि घरदैलो, भेटघाट र प्रचारप्रसार पहिलो चरणमा सकेको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार रामबहादुर सिँहले बताउनुभयो । अव नगरका वडा नम्बर ३, ५ र १० वडामा चुनावी प्रचारप्रसार, घरदैलो र भेटघाट बाँकी रहेको छ । पहिलो स्थानीय तह निर्वाचनमा नगर प्रमुख,उपप्रमुख, ८ वटा वडा, कार्यपालिका सदस्यसहित ८० प्रतिशत नतिजा आफ्नो पक्षमा ल्याएको नेपाली कांग्रेस भेरीगंगा नगरकमिटि दोस्रो स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रित हुँदै नेपाली कांग्रेस भेरीगंगा नगर कमिटिको नेतृत्वमा उम्मेदवार र कार्यकर्ता घरदैलो र चुनावी कार्यक्रममा जुटेका हुन् । दोस्रो स्थानीय तह चुनावमा माओवादी केन्द्रसंग गठबन्धन गरेको कांग्रेसले पहिलो स्थानीय तहको निर्वाचन भन्दा बढी मत र उम्मेदवारी जित्ने उत्साह र जोशका साथ आज बैशाख १७ गते शनिबारदेखि वडा वडामा चुनावी प्रचार कार्यतालिका सार्वजनिक गरि अभियान थालनी गरेको थियो । नगर प्रमुख रामबहादुर सिँह उम्मेदवारको नेतृत्वमा नगरका १३ वडामा १८ वटा कार्यतालिका बनाएको हो ।


जसअन्तर्गत बैशाख १७ गते भेरीगंगा ६ र ७ वडा, बैशाख १९ गते वडा नम्बर ८ र ९, बैशाख २० गते ११ र १३ वडामा, बैशाख २१ गते १२ र १० वडा, बैशाख २२ गते वडा नम्बर ४ र ५ वडा, बैशाख २३ गते वडा नम्बर ५, बैशाख २४ गते वडा नम्बर १ र २ र बैशाख २५ गते वडा नम्बर २, बैशाख २६ गते वडा नम्बर ३ का चुनावी प्रचारप्रसार, भेटघाट र घरदैलो कार्यक्रम रहेको छ । माओवादी केन्द्रसंगको तालमेल र पहिलो स्थानीय चुनावभन्दा सुधारिएको पार्टी संगठनका कारण ९० प्रतिशत स्थानीय तह चुनाव परिणाम पार्टी र गठबन्धनका पक्षमा हुने दावी नेपाली कांग्रेस भेरीगंगा नगर कमिटिको रहेको छ ।