भेरीगंगा, बैशाख २० -नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धनका नगर प्रमुख, उपप्रमुख र वडा उम्मेदवारहरुको सभामा भेरीगंगा १३ रामघाट बासीले बैशाख ३० मा भोट गठबन्धनलाई दिने बताएका छन् । मंगलबार भेरीगंगा १३ मा आयोजित गठबन्धनका उम्मेदवारहरुको संयुक्त सभामा सहभागीले विगतमा एमालेलाई जिताएपनि यसपाली कांग्रेस, माओवादी गठबन्धनका उम्मेदवारलाई भोट दिने वाचा गरेका हुन् ।


साविक रामघाट गाविस र हालको वडा नम्बर ११ र १३ मा विगतमा दुवै वडाहरु एमालेलाई विजयी गराउँदा विकास र परिवर्तनको अपेक्षा पुरा नभएको गुनासो गर्दै भोट कांग्रेस माओवादीमा दिने उल्लेख गरेका हुन् । स्थानीय अनिता वलीले विगतको गल्ती बैशाख ३०मा नहुने बताउनुभयो । मेयरका उम्मेदवार पनि आफ्नै रामघाटको भएकोले भोट गठबन्धनका मेयर, उपमेयर, वडाअध्यक्ष, वडासदस्यमा दिने वलीको भनाई छ । रामघाटमा आयोजित सभालाई मेयरका उम्मेदवार रामबहादुर सिँह र उपमेयरका उम्मेदवार नन्दबहादुर कार्कीले सम्बोधन गरेका थिए ।

सँयौको सख्यामा सहभागी स्थानीयवडाबासी र कार्यकर्ताले रामघाटमा यो बर्ष कांग्रेस र गठबन्धनका लागि भोटको कमी नहुने बताएका छन् ।
रामघाटबासीको आशा, विश्वास र सल्लाह सुझाव अनुसार रामघाट क्षेत्रबाट गठबन्धन उम्मेदवारलाई भारी मत आउने उम्मेदवारहरुको भनाई रहेको छ । यसपाली वडा नम्बर १३ मा पनि माओवादी र कांग्रेसको गठबन्धन रहेको छ ।