भेरीगंगा, बैशाख १९- भेरीगंगा नगरपालिकाको विटक मानिएको लेखपराजुल क्षेत्रमा विभिन्न पार्टीका उम्मेदवारहरु मत फकाउन कस्सिएका छन् । विकट र दुर्गम भेरीगंगाको वडा नम्बर १,३ र ३ वडामा नगर प्रमुख, उपप्रमुख उम्मेदवारहरुको दौलधुप बढेको हो ।

लेखपराजुल क्षेत्रमा विकासे नाराहरु बोकेर मेयर, उपमेयरका उम्मेदवारहरु घरदैलोलाई तीव्र बनाएका छन् । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार रामबहादुर सिँहले बैशाख १६ गतेयता दुई पटक लेखपराजुल क्षेत्रमा पुगेको बताउनुभयो । वडा नम्बर १ र २ मा पुगेको वडा नम्बर ३ मा घरदैलोमा जान बाँकी रहेको सिँहले जानकारी दिनुभयो । नेकपा एमालेबाट मेयरका उम्मेदवार यज्ञप्रसाद ढकालले हिजोमात्रै लेखपराजुल क्षेत्रमा पैदल यात्राबाट घरदैलोमा पुगेको बताउनुभयो । नगरका कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, नेकपा एस, स्वतन्त्रका उम्मेदवारहरु सडक, खानेपानी, बत्तीका नारा लिएर लेखपराजुल क्षेत्रमा पुग्ने गरेका हुन् ।

राप्रपा पार्टीबाट मेयरका उम्मेदवार गोपाल हमालले अहिलेसम्म अन्य वडामा मतदाता भेटघाट नगरेर लेखपराजुल क्षेत्रमा लागेको बताउनुभयो । लेखपराजुल क्षेत्र सडकबाटो, खानेपानी, सिँचाई, शिक्षा, बत्तीबाट नगरकै विकट रहेको छ ।