सुर्खेत, बैशाख १७ – पहिलो स्थानीय तह निर्वाचनमा नगर प्रमुख,उपप्रमुख, ८ वटा वडा, कार्यपालिका सदस्यसहित ८० प्रतिशत नतिजा आफ्नो पक्षमा ल्याएको नेपाली कांग्रेस भेरीगंगा नगरकमिटि दोस्रो स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रित हुँदै नेपाली कांग्रेस भेरीगंगा नगर कमिटिको नेतृत्वमा उम्मेदवार र कार्यकर्ता घरदैलो र चुनावी कार्यक्रममा जुटेका हुन् ।


दोस्रो स्थानीय तह चुनावमा माओवादी केन्द्रसंग गठबन्धन गरेको कांग्रेसले पहिलो स्थानीय तहको निर्वाचन भन्दा बढी मत र उम्मेदवारी जित्ने उत्साह र जोशका साथ आज बैशाख १७ गते शनिबारदेखि वडा वडामा चुनावी प्रचार कार्यतालिका सार्वजनिक गरि अभियान थालनी गरेको छ । नगर प्रमुख रामबहादुर सिँह उम्मेदवारको नेतृत्वमा नगरका १३ वडामा १८ वटा कार्यतालिका बनाएको हो । जस अन्तर्गत बैशाख १७ गते भेरीगंगा ६ र ७ वडा, बैशाख १९ गते वडा नम्बर ८ र ९, बैशाख २० गते ११ र १३ वडामा, बैशाख २१ गते १२ र १० वडा, बैशाख २२ गते वडा नम्बर ४ र ५ वडा, बैशाख २३ गते वडा नम्बर ५, बैशाख २४ गते वडा नम्बर १ र २ र बैशाख २५ गते वडा नम्बर २, बैशाख २६ गते वडा नम्बर ३ का चुनावी प्रचारप्रसार, भेटघाट र घरदैलो कार्यक्रम रहेको छ ।


माओवादी केन्द्रसंगको तालमेल र पहिलो स्थानीय चुनावभन्दा सुधारिएको पार्टी संगठनका कारण ९० प्रतिशत स्थानीय तह चुनाव परिणाम पार्टी र गठबन्धनका पक्षमा हुने दावी नेपाली कांग्रेस भेरीगंगा नगर कमिटिको रहेको छ ।