नेपाली कांग्रेस भेरीगंगा प्रथम ऐतिहासिक नगर सम्मेलन सम्पन्न

भेरीगंगा, फागुन १३ -नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिको प्रथम ऐतिहासिक प्रथम नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । सुर्खेत जिल्लामै पहिलो पटक पार्टीको नगर सम्मेलन भेरीगंगा नगर कार्यसमितिले सम्पन्न गरेको हो । पार्टी सुदृढीकरण, पार्टीलाई जनताको सुखदुखको साथी, विकासमा हातेमालो गर्ने उद्धेश्यले कांग्रेसको भेरीगंगा नगर सम्मेलन सम्पन्न भएको हो ।

पार्टीका नगरकार्यसमिति सभापति रामबहादुर सिंहको सभापतित्वमा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति एवं कर्णाली प्रदेशसभा सदस्य खड्गबहादुर पोखरेलको प्रमुख आतिथ्यता र विशिष्ट अतिथिहरु नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्य, कर्णाली प्रदेशसभा सदस्य घनश्याम भण्डारी, रेणु आचार्य र मानबहादुर बुढाको उपस्थितिमा छिन्चुमा शनिबार नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा अतिथिहरु कांग्रेस जिल्ला उपसभापति विष्णुबहादुर खड्का, क्षेत्र नम्बर १ क्षेत्रीय सभापति झकबहादुर डाङ्गीको समेत सहभागीता रहेको थियो ।

सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, पार्टीका भातृ एवं शुभेच्छुक संघका प्रमुख, वडा सभापति, नगर कार्यसमिति, वडा कार्यसमितिका सदस्यहरू र क्रियाशील सदस्यहरुको सहभागीता रहेको थियो । नगर सम्मेलनमा पार्टीका एक बर्षका कार्यक्रम, प्रतिवेदन, प्रगति विवरण पेश गर्दै आगामी कार्यक्रम, कार्यदिशा, योजनाहरु पेश गरि पास गरिएको नगर सभापति सिँहले जानकारी दिए । पार्टीको केन्द्रिय निर्देशन, कार्र्यक्रम र विधान बमोजिम सुर्खेत जिल्लामै पहिलो पटक पार्टीले नगर सम्मेलन गरेको उनले दावी गरे । यस्तै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले नगर सम्मेलनका लागि पठाएको शुभकामना सन्देश समेत प्रस्तुत गरिएको थियो ।

नगर सम्मेलनले पार्टीका भेरीगंगा नगरअन्तर्गत साविक गाविसका पुर्व सभापतिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा साविक मैनतगा गाविसका पुर्वसभापति भुपेन्द्रबहादुर चन्द, छिन्चु गाविस सभापति हर्कबहादुर घर्ती, रामघाट सभापति झरसिंह बुढा र लेखपराजुल गाविस सभापतिहरु नन्दबहादुर बुढा र हर्कबहादुर वलीलाई सम्मान गरिएको थियो ।

पार्टीमा विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गर्दै नेपाली कांग्रेस पार्टीलाई यहासम्म ल्याउन अहम् भुमिका खेल्लेको भन्दै सम्मान गरिएको हो ।