लेकबेशीको दशरथपुरमा निःशुल्क महिला स्वास्थ्य शिविर सुरु

दिपेश लम्साल, फागुन १३- नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पुर्णबहादुर खड्काको विशेष पहल, सशस्त्र प्रहरी बल, अस्पताल नेपालको आयोजना, लेकबेशी नगरपालिकाको सहआयोजनामा लेकबेशीमा महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविर सुरु भएकोृ छ । लेकबेशी नगरपालिकाको दशरथपुर स्वास्थ्य केन्द्रमा महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

सशस्त्र प्रहरी बल, अस्पताल नेपालका विशषेज्ञ चिकित्सको नेतृत्वमा लेकबेशी र भेरीगंगा नगरपालिकाका महिलाहरुका लागि लक्षित गर्दै चार दिने स्वास्थ्य शिविर संचालनमा आएको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिए । कांग्रेस उपसभापति तथा प्रतिनिधीसभा सदस्य पुर्णबहादुरको खड्काको पहल, प्रक्रिया र निर्देशनमा लेकबेशीका १० वटै वडाका महिलाहरुलाई निशूल्क सेवा दिन शिविर संचालनमा आएको मेयर पौडेलले बताए । विशेषज्ञ महिला चिकित्सकबाट शनिबारदेखि ४ दिने निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना भएको र करिव पाँच हजार महिलाले निशूल्क स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ । पहिलो दिन लेकबेशीका १ देखि ३ वडाका ३३८ जना महिलाहरुले सेवा पाएको मेयर पौडेलले भने ।

शिविरमा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम समेत प्रदान गरिने छ । फागुन १३ देखि १६ गतेसम्म सञ्चालन हुने विशेषज्ञ महिला स्वास्थ्य शिविरमा पहिलो दिन शनिबार लेकबेशी नगरपालिकाका–१,२ र ३ नम्वर वडाका सबै महिलाहरुका निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको छ । फागुन १४ गते लेकबेशी नगरपालिकाका–४,५ र ६ नम्वर वडा, फागुन १५ गते ७, ८ र ९ नम्वर वडा एवं फागुन १६ गते लेकबेशी नगरपालिका–१० नम्वर वडासँगै भेरीगंगा नगरपालिकाका–११ र १३ नम्वर वडाका महिलाहरुका लागि विशेषज्ञ महिला स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको लेकबेशीमा निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविर आयोजनाबाट आर्थिक अभाव भएका महिलाले लाभ लिने अपेक्षा गरिएको छ । लेकबेशी नगरपालिकाले निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविरबाट मौकाको फाइदा उठाउन सम्पूर्ण लेकबेशीका महिलालाई आग्रह गरेको छ । शिविर नगरक्षेत्रका गरिव, असाहय र विपन्नका लागि वरदान नै सावित हुने विश्वास छ ।