गुर्भाकोट, फागुन ७ -सशस्त्र प्रहरी बल, नेपाल अस्पतालद्धारा आईतबारदेखि गुर्भाकोटको सिटिहलमा निशूल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम सूरु भएको छ । गुर्भाकोट नगरका १४ वडा र भेरीगंगाको साविक मैनतडाका महिलाहरुलाई निशूल्क स्वास्थ्य सेवा दिने गरि शिविर सुरु भएको हो ।


नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काको विशेष पहलमा सुरु भएको शिविरको उद्घाटन खड्काले आईतबार गरे । पुर्वी सुर्खेतका गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरका सबै वडामा महिलाहरुको स्वास्थ्य लक्षित गरि सशस्त्र प्रहरी अस्पतालद्धारा सुरु शिविर गुर्भाकोटबाट सुरु भएको हो । गुर्भाकोटमा फागुन ७ गतेदेखि ११ गतेसम्म पाँच दिन संचालन हुने शिविरमा महिलाहरुको पाठेघर सम्बन्धि समस्या लगायत अन्य समस्या भएका महिलाहरुको लागि आवश्यक परामर्श सहितको शिविर संचालन भएको हो । शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कांग्रेसका उपसभापति खड्काले आफ्नो विशेष पहल, सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशनमा सुर्खेत क्षेत्र नम्बर १ मा निशूल्क शिविर भएको बताए । यस्तो खालको शिविर कर्णाली प्रदेशमा पहिलोपटक भएकोले यसमा शिविरका अप्रेशन, औषधी, भर्ना, खानपिन सबै निशूल्क भएको उनले भने । सशस्त्र प्रहरी अस्पतालका महिला विशषेज्ञ चिकित्सकले शिविरमा सेवा दिने उनले भने ।

शिविरमा नेपाल एपीएफ अस्पतालका डा. सौजन्य कर्मचार्यको चिकित्सकको टिम खटिएको छ । शिविरमा आवश्यक पर्ने अन्य औषधी, खानपिन, आवश्यक सामग्री व्यवस्थापन गुर्भाकोट नगरपालिकाले पाँच दिनसम्म व्यवस्थापन गर्ने मेयर हस्त पुनले बताए । फागुन ७ देखि ११ सम्म संचालन हुने शिविर अन्तर्गत गुर्भाकोट नगरपालिका र भेरीगंगा वडा नम्बर ६,७,८ र ९ वडाका महिलाहरुका लागि गुर्भाकोट मेहेलकुना सिटिहलमा शिविर चल्ने छ । फागुन १३ देखि १६ गतेसम्म लेकबेशी नगरपालिका र भेरीगंगा वडा नम्बर ११ र १३ वडाका लागि स्वास्थ्य केन्द्र दशरथपुमामा शिविर संचालन हुने छ ।


फागुन १८ देखि २० गतेसम्म भेरीगंगाका १,२,३,४,५,१०, र १२ वडाका लागि स्वास्थ्य चौकी छिन्चुमा शिविर आयोजना हुने छ । नेपाल एपीएफ, अस्पतालको आयोजना र गुर्भाकोट नगरपालिका, लायन्स क्लव अफ काठमाण्डौ, ल्याबवेट क्लिनिक प्रालिको सहआयोजनामा शिविर सुरु भएको हो । शिविरमा पाठेघर सम्बन्धी सम्पूर्ण समस्याको लागि निःशुल्क शिविर सञ्चालन हुने छ ।