भेरीगंगा, फागुन ३ -भेरीगंगा नगरपालिकामा वडाअध्यक्ष हुँदा मोटरसाईकल दुर्घटनामा परि गत फागुनमा मृत्यू भएका तत्कालिन भेरीगंगा १ का वडाअध्यक्ष नवराज कार्कीको वडा कार्यालयमा शालिक अनावरण भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’ले मंगलबार स्व. कार्कीको वडा कार्यालय परिसरमा शालिक अनावरण गरेका हुन ।

शालिक अनावरण गर्दै मन्त्री जिसीले उनी एक कर्मठ, उर्जाशिल र जनताको साथीको रुपमा रहेको बताउँदै भेरीगंगाको कम्युनिष्ट आन्दोलनमा उनको भूमिका अतुलनीय भएको बताए । मन्त्री जिसीले वडाअध्यक्ष्ँ कार्कीले देखेको सपनालाई पुरा गर्ने प्रतिबद्धता जनाए । भेरीगंगा नगरप्रमुख यज्ञप्रसाद ढकालले नेता कार्की इमान्दार र जनताको सेव ागर्न प्रतिबद्ध रहेको भन्दै वडा कार्यालयको पहलमा र स्थानीय नेता कार्यकर्ताको पहलमा उनको शालिक स्थापना गरिएको बताए । ‘हामीले शालिक अनावरणका लागि एक लाख र वडा नं.२ को सत्तरीमा उनको नाममा प्रतिक्षालय निर्माणका लागि साढे एक लाख सहयोग गरेका छौं ।’ उनले भने, ‘आगामी दिनमा पनि हामी उहाँको सम्झनामा गर्ने कार्यमा सहयोग गर्न तत्पर छौं ।’

नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष दिनेश पुलामीसहित नेकपा माओवादी केन्द्रका स्थानीय अगुवा कार्यकर्ताको पहलमा उक्त शालिक अनावरण गरिएको हो ।