जहरेबजारमा पहिलो पटक कुमारी बैकको एटिएम सेवा सूरु

भेरीगंगा, माघ २६ -भेरीगंगा नगरपालिकाको दोस्रो ठुलो बजार जहरेबजारमा पहिलो पटक बैकको एटिएम सेवा सूचारु भएको छ । भेरीगंगा ९ जहरेबजारमा रहेको कुमारी बैकले पहिलो पटक एटिएम सेवा संचालनमा ल्याएको हो ।

एनसिसि बैकबाट कुमारी बैक नाम परिवर्तन भएपछि बैकले माघ २५ गतेबाट एटिएम सेवा सूचारु गरेको कुमारी बैक जहरे शाखा प्रमुख पदमराज पाण्डेले जानकारी दिए । मंगलबारबाट एटिएम नियमित संचालनमा आएको उनले भने । जहरेबजारमा रहेको एक मात्र क वर्गको राष्ट्रिय बैक कुमारी बैकले एटिएम सेवा संचालनमा ल्याएपछि यस क्षेत्रका हजारौ सर्वसाधरण, व्यापारी र बैकका सेवाग्राही लाभान्वित भएका छन् । कुमारी बैकका सेवाग्राहीसंगै अन्य क र ख वर्गको बैकमा खाता खोली एटिएम लिएका सेवाग्राही लाभान्वित भएका हुन् । जहरेबजारमा एटिएम सुचारु भएपछि भेरीगंगाका साविम मैनतडा, रामघाटसंगै गुर्भाकोट नगरका गुमी, शिवनगर र लेकबेशी नगरका लेकफर्सा क्षेत्रका नागरिक लाभान्वित भएका छन् ।

जहरेबजारमा रहेका व्यापारी, उद्योगी, व्यवसायी र कर्मचारीलाई समेत बैक कारोवार गर्न सहज भएको छ । यसअघि यस क्षेत्रका बैकको एटिएम प्रयोगकर्ता रकम झिक्न मेहेलकुना वा छिन्चुसम्म जानुपर्ने अवस्था रहेको थियो ।