बालकुमारी विक, माघ १६- निर्माण कार्य बन्द भएको कर्णाली प्रदेशकै नमुना भेरीगंगा बसपार्कको निर्माण कार्यले गति पाएको छ । भेरीगगा वडा नम्बर १२ स्थित छिन्चु बसपार्क निर्माण कार्य एक महिनादेखि बन्द भएकोमा एकसातादेखि काम सूचारु भएको हो ।

छिन्चुस्थित नेपाली सेनाको ब्यारेकले निर्माण ठेकेदारलाई काम गर्न रोकेपछि भेरीगंगा नगरपालिकाको पहलमा विवाद साम्य पारिएपछि निर्माण सूरु भएको नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो । नेपाली सेना, निर्माण कम्पनीसंग नगरपालिकाले गरेको छलफलपछि एक सातादेखि काम सूरु भएको नगर प्रमुख ढकालले भन्नुभयो । बसपार्क निर्माणको पुर्वक्षेत्रको जग्गामा विवाद रहेको भन्दै छिन्चुस्थित नेपाली सेनाको ब्यारेकले निर्माण कार्य अवरोध गरेपछि एक महिनादेखि काम बन्द थियो । कर्णाली प्रदेशको प्रवेशद्धारका रुपमा रहेको भेरीगंगाको छिन्चुमा बन्ने बसपार्क नगरविकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौतासहित १३ करोड लागतमा निर्माण सूरु भएको छ ।

करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । बसपार्क आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा लिएको छ ।