कुमार विक, माघ ९ – राष्ट्रिय भुमि आयोग सुर्खेतले साविक कोटमाझखर्क अन्तर्गत भेरीगंगा नगरपालिका तीन वटा वडामा सोमबार ११८ जना जग्गाधनीका लालपुर्जा वितरण गरेको छ । दोस्रो चरण अन्तर्गत सोमबार भेरीगंगा नगरपालिका वडा नम्बर ६,७ र ८ वडाका ११८ जनालाई लालपुर्जा बाडिएको हो । भेरीगंगा नगरपालिका वडा नम्बर ८ मैनतडामा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय भुमि आयोगले वडा नम्बर ६ मा ३२ जना, वडा नम्बर ७ मा १० जना र वडा नम्बर ८ मा ७६ जनालाई स्थायी लालपुर्जा वितरण गरेको हो ।

यसअघि गत २०७८ चैत २५ गते गुर्भाकोटमा ३४ र भेरीगंगा नगरपालिकामा १०२ जना गरि १३६ जनालाई लालपुर्जा वितरण गरिएको थियो । लालपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय भुमी आयोग सुर्खेत अध्यक्ष श्रीधर पौडेलले दोस्रो चरणमा आज ११८ जनाको लालपुर्जा वितरण भएको भन्दै अझै तेस्रो चरणमा बाँकी जग्गाधनीको लालपुर्जा वितरण हुने बताउनुभयो । भेरीगंगाका ६१७ फाईल जग्गा कित्ताकाट फाईल तयारी भन्दै अध्यक्ष पौडेल चालू बर्षमा सबैको पुर्जा तयारी भई वितरण सक्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा भेरीगंगा नगरपालिका मेयर तथा कार्यक्रमका सभापति यज्ञप्रसाद ढकालले लालपुर्जा वितरण गर्न बाँकी जग्गाधनीको पुर्जा निर्माण तयारी सक्न कित्ताकाँट काम छिटै सक्ने बताउनुभयो । कोटमाझखर्क अन्तर्गतका भेरीगंगाका सबै वडाका लालपुर्जाको किताकाटका लागि छिटै कर्मचारी परिचालन गरिने उहाँको भनाई थियो । भेरीगंगा नगरपालिकाले लालपुजा तयारीका लागि जग्गाधनीले मालपोत कार्यालयमा तिनुपर्ने राजस्व नगरपालिकाले तिरिदिने मेयर ढकालले भन्नुभयो । राष्टिय भुमि आयोग सुर्खत सदस्यसचिव तथा जिल्ला नापी कार्यालय प्रमुख राजेन्द्र थापाले वितरण भएका लालपुर्जाले अव सरकारी मान्यता पाएको भन्दै अरु पुर्जासरह काम गर्ने बताउनुभयो ।

पुर्जा वितरणमा भेरीगंगाका पुर्व मेयर, वडाअध्यक्ष, वर्तमान वडाअध्यक्ष, जनप्रतिनिधीसंगै राजनैतिकका दलका प्रतिनिधीको सहभागीता रहेको थियो । जग्गाधनीलाई भेरीगंगा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लालसिँह बिसी, ७ का वडाअध्यक्ष कर्णबहादुर मिजार, ८ का वडाअध्यक्ष पुसे कामी, ११ का वडाअध्यक्ष जयनबहादुर नेपाली, १३ का वडाअध्यक्ष गणेशबहादुर भण्डारी, यस्तै निर्वतमान वडाअध्यक्षहरु लक्षुमण राना, पदमबहादुर खत्री, बलबहादुर खड्का, निर्वतमान भेरीगंगा नगर मेयर भुपेन्द्रबहादुर चन्द, नेपाली कांग्रेस नगरसभापति रामबहादुर सिँह लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा वडा सचिव, वडाका कर्मचारी, वडासदस्य, भेरीगंगा नगरकार्यपालिका सदस्य, प्राविधिक कर्मचारी, नगरका सयौ नगरबासी र सरोकार निकायको सहभागीता रहेको थियो ।

गत बर्ष चैत २५ गते भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा राष्ट्रिय भूमी आयोग सुर्खेतले कोटमाँझखर्क अन्तर्गत पहिलो चरणमा वितरण गरेको थियो । आयोगले वितरण गरका सबै लालपुर्जाले कानुनी मान्यता पाई नामसारी, बैकिङ्ग कारोवार, धितो कायम, रोक्का र हक हस्तान्तरण गर्न योग्य भएको बताएको छ ।