लेखकः गौरी मगर- नागरिक र नैतिक शिक्षा सभ्य,अनुशासित, सहयोगी, परोपकारी समाज निर्माणका आधार हुन् । समाजमा फरक संरचनाकै कारण एकै किसिमको व्यवहार अवश्य नै भेटाउन अलि कठिन पर्छ । समाजका छुट्टै मान्यता छन् । नेपाली समाजको अस्तित्व आफ्नै किसिमको छ । प्राचीन समयदेखि अहिलेसम्म धेरै रुपमा परिवर्तन भोगिसकेको नेपाली समाज आफैँमा विशिष्ट उदाहरणको नमूना हो । नेपाल एकीकरणका हस्ती शाहवंशीय राजा पृथ्वीनारायण शाहको भनाइमा “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो “ । फूलबारीमा फुलेका फूलका आ–आफ्नै विशेषता हुन्छन् । रङ्गमा मात्रै हैन वासनामा पनि अस्तित्व भिन्न छ । ठ्याक्कै यही युक्तिको सारभाव धेरै प्रसंगमा जोड्न सकिन्छ । बगैँचामा सुन्दरता छरेर मनमोहक बनाइदिने फूलमा पनि काँडा हुन्छन् । बाहिर देखिने र भित्री अन्तर्यमा हुने कुरामा भिन्नता यसरी नै खोज्न सकिन्छ । मानिसहरुको व्यवहारले नै सभ्य समाजको संकेत गर्छ । नेपाली समाजमा विशेषगरी दुईवटा धार रहँदै आएको छ । एउटा सकारात्मकतामा जोडिएर अघि बढ्न चाहने अर्को यसको ठीक विपरीत नकारात्मकता बोकेर अरूलाई उचाल्न,पछार्न चाहने हुन्छन् । समाजका प्रवृत्तिले सिंगो आकारमा त्यसको दिशाबोध गराउँछ । राजनीतिक घटना क्रममा सबैभन्दा बढी नेपाली समाज विभाजित बन्दै गइरहेको छ । शिक्षित वर्ग पनि धेरै हदसम्म यसैबाट सञ्चालित छ । समाजमा राजनीति प्रयोगको रुपमा स्थापित बनिदिँदा यसका केही नकारात्मक फोहोरी छिटाहरुले कतै न कतै समाज नै दूषित बनिदिने पो हो कि भनेर आम जनमानसमा चिन्ताको बिउ रोपिएको छ । समाजलाई अगाडि बढाउन बाधक बन्ने तत्वहरुको समयमै किटान र त्यहीअनुसारको समाधान खोज्नु पर्ने हुन्छ ।


हाम्रो समाजमा यस्ता व्यक्तिहरु धेरै हुन्छन् जसले आफ्नो आङमा भैंसी नदेख्ने अरूको आङमा जिम्रा पनि देख्छन् । अरुकै चियो चर्चा र नकारात्मक टिप्पणीले नै मान्छेलाई गलत बाटोमा लगिरहेको हुन्छ । समाजको चपेटामा च्यापिएर बसेका केही मानिस पनि हुन्छन् । जसले समाजलाई म गलत होइन भन्न समेत सक्दैन र भनेपनि समाजले सुनिरहेको हुँदैन । अनुहार हेरेर कसैको चरित्रको बयान गर्नु त्योजस्तो मूर्ख मान्छे अरु कोही हुन सक्दैन । यस्तै विभिन्न उदाहरणका मान्छेहरू पनि छन् हाम्रो समाजमा। यस्ता गलत प्रवितिलाई हटाउन समाज अग्रसर नभएर त्यही गलत प्रवृत्तिको पछि लाग्छन् । नकारात्मकता छाएको हाम्रो नेपाली समाजमा भने अरुकै खुट्टा तान्न तत्पर हुन्छन् । नकारात्मक टिप्पणी पनि गर्नु पर्छ तर कसैको आत्म सम्मानमा ठेस नपुग्ने गरी उसको टिप्पणी गर्नु पर्छ एक सभ्य भाषामा सभ्य र सचेत नागरिक भएर टिप्पणी गर्नु पर्छ ।सत्य बोल्न र सत्य पत्ता लगाउन कोशिश नगरेर त्यही भ्रमको पछि लाग्ने समाज सत्य सावित्री लाई पनि रखेल देख्छ यो समाज कता गइरहेको छ । समाजका केही जान्ने, बुझ्ने भनेर आफूलाई चिनाउन चाहने, आफ्नो स्तुतिगान लोकले गाइदियोस् भन्ने अपेक्षा राख्ने प्रवृत्तिका पनि हुन्छन् । प्रचारबाजीमा केहीलाई उतारेर आफ्नो मात्रै फाइदा हुने गरी शब्दहरु ओकलून् भन्ने संकीर्ण भावको अस्वस्थ खेती गर्नेहरुले वर्षौँदेखि रहेको अटुट सामाजिक सम्बन्धमा अस्वस्थ खेल खेलिरहेका हुन्छन् । यस्ता अस्वस्थ खेल खेल्ने खेलाडीलाई अनुशासनमा कायम राख्न सक्नु नै सभ्य समाजको परिचय हो जसमा सिंगो समाजको नै दिगो रूपमा भलाई हुन पुग्छ । समाज र परिवारमा केही अमूक व्यक्ति हुन्छन् जसले आफूअनुकूल परिवार र समाज चलाओस अपेक्षा राखेको हुन्छ । यो सम्मुन्नत समाजको पक्षमा रहनै सक्दैन । यसले विचारमा द्वन्द्वका रापहरु ओकल्न थाल्छ । र त्यसमा विद्रोह सुरु हुन पुग्छ । जब समाज सभ्य हुन सक्दैन तब हरेक क्षेत्रमा विद्रोह हुन थाल्छ त्यसमा फाइदा भने समाजलाई होइन राजनैतिक दलको पोल्टोमा पर्न जान्छ र झन् आम जनमासमा विद्रोह पैदा हुन्छ । विद्रोहले हरेक किसिमका घटनालाई आधार बनाउँछ जसमा समाज हरेक ठाउँमा चुकेको हुन्छ ।


समाजमा अनेक किसिमका आनीबानी गरेका मान्छे हुन्छन् । तपाईं हामी पनि अरुजस्तो बन्न कहिले पनि सक्दैनौं । प्रगतिका पाइला वा सकारात्मक प्रयास अगाडि बढाइरहनुभएको छ भने नआत्तिनुहोस् तपाईंको खुट्टा तान्न समाजको एउटा जमात तयारी हालतमा बसेको छ । यो समूह हरहालतमा तपाईंका हरेक सकारात्मक क्रियाकलापमा तगारो बनिदिन्छ । भ्रमको खेती, अनावश्यक प्रचारप्रसार, व्यक्तिगत चरित्रहत्या, विरोधका श्रृङ्खलामा उसले सक्रिय जालो फिजाइराखेको हुन्छ । बेग्लै व्यावसायिक रुप केही नकारात्मक जालो बुनेर बसेको देखिन्छ । यी आफ्नो स्वार्थको लागि अनुत्पादक लगानीमा जस्तोसुकै मूल्य चुकाउन हरदम तयारै रहन्छन् । यसले थप समाज पछाडि धकेलिरहेको हुन्छ । यस्ता खेलमा लाग्नेलाई निरुत्साहित गर्न ढिलो गर्नुहुँदैन । समाजमा सबै एकताका साथ मिलेर बस्यौँ भने सबै कुराको सही व्यवस्थापन हुनुको साथै विकासी वेगले सहज फड्को मार्छ । समाजमा एक्लिने र एक्ल्याउनेको खेलमा सकभर आफू सम्हालिन सक्नुपर्छ,गोटी बनेर प्रयोग हुनुहुँदैन भन्ने ज्ञान सिक्नु पर्छ । नकारात्मकता मान्छेलाई रित्याइरहेको हुन्छ जहाँ हिमपहिरोले हिमाल रित्याएझैँ ,बर्खाको भेलले तराई डुब्न परेझैं,कुहिरोले प्रकृति अन्धकार बनाए झैं यस्तै यस्तै । समाजले निकै गहिरो सम्बन्धको अर्थ राख्छ । विश्वमा समाजको संरचना त्यस देशका धेरै आयामहरुले निर्धारण गर्ने गर्छन् । त्यहीअनुरुप यसको प्रकृति र विशेषतामा केही परिवर्तन तथा विविधता पाउने गरिन्छ । प्रगतिशील समाज र पश्चगामी समाज बारेका बहसले विश्वमै आफ्नो ठाउँ पाएको हामीले देखिरहेका, सुनिरहेका हुन्छौँ । यसमा नेपाली समाजको विश्लेषणमा उत्रिने छुट तपाईं हामी सबैलाई छ । समय क्रमसँगै चलिरहेका राजनीतिक परिघटनाले समाजको संरचना, आकारप्रकारमा फेरबदल लिइरहेको हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौँ । समाजको महत्वपूर्ण हिस्सामा व्यक्ति, परिवार रहने गर्छन् । समाज परिवर्तनको कुन रफ्तारमा छ भनेर खोज्न यिनैको सेरोफेरोमा रहेर विचार, विमर्श बढाए धेरै कुराको थाह लाग्छ ।समाजको फरक संरचनाकै कारण एकै किसिमको व्यवहार अवश्य नै हामीहरुले भेटाउन सक्दैनौँ । त्यसैले यसका छुट््टै मान्यता छन् । नेपाली समाजको अस्तित्व आफ्नै किसिमको छ । मानिसहरुको व्यवहारले नै सभ्य समाजको संकेत गर्छ ।राजनीतिक घटना क्रममा सबैभन्दा बढी नेपाली समाज विभाजित बन्दै गइरहेको छ । शिक्षित वर्ग पनि यसैबाट सञ्चालित छ धेरै हदसम्म । समाजमा राजनीति प्रयोगको रुपमा स्थापित बनिदिँदा यसका केही नकारात्मक बाछिटाहरुले कतै समाज नै दूषित बनिदिने पो हो कि भनेर आम जनमानसमा चिन्ताको बीज रोपिएको छ । समाजलाई अगाडि बढाउन बाधक बन्ने तत्वहरुको समयमै किटान र त्यहीअनुसारको समाधान रोज्नुपर्छ ।

विश्वकै एक उदाहरणीय देशको रुपमा यो समाजको नाम अग्रभागमा आउनैपर्छ । समाजको सम्बन्ध चिरस्थायी बन्नुपर्छ । यो कसैको हित र स्वार्थमा प्रयोग हुने प्रयोगशाला बन्नुहुँदैन । नेपाली समाज बलियो, स्वाभिमान र गर्व गर्नलायक बन्नुपर्छ । कसैको कुभलो चाहने होइन होइन भने हामी मानव भएको अर्थ के नै रह्यो । कसैको परिवारप्रति पुर्वाग्रहि, रिस,डाहा,बैमनस्यता र चरित्र हत्या गर्ने जस्ता कार्यहरू नहोस्,सकारात्मक पाटोबाट हाम्रो समाज फस्टाओस् । गलतलाई गलत र सहीलाई सही भनी गलत प्रवृत्तिलाई निरुत्साहित गर्नमा जोड दिउँ सभ्य समाजको निर्माण गरौँ । युवा जतिले समाज परिवर्तनको बाटोमा लाग्यो भने एकदिन अवस्य हामीले समाजका कुरीति र कुसंस्कार हटाई सभ्य र असल समाज निर्माण गर्न सक्छौं । यसो भयो भने भावी सन्तानलाई सजिलो पर्न जान्छ र समाज सकारात्मक बाटोतिर लम्किदै जान्छ । समाज सभ्य बनाउन सबै एकजुट भएर लगाऊ सभ्य नागरिकको परिचय दिउँ ।
जय नेपाल
जय खेलकुद
जय कर्णाली

लेखकः गौरी मगर
भेरीगंगा ७ मुलपानी,सुर्खेत ।।