सुर्खेत, माघ ४- नेपाली कांग्रेस सांसद गरीव कल्याण छात्रवृत्ति योजना अक्षयकोष, सुर्खेत क्षेत्र नं.१ ले ६४६ जना विद्यार्थीलाई छात्रवृतिका लागि छनोट गरेको छ । चालू आर्थिक बर्षमा सुर्खेत क्षेत्र नम्बर १ का विभिन्न सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म अध्ययनरत ६४६ जना छात्रछात्रालाई निशुल्क छात्रवृति वितरणका लागि छनोट गरेको हो ।

आउँदो माघ ८ गते क्षेत्र नम्बर १ का १६ वटा सामुदायिक विद्यालयबाट छात्रवृति वितरण हुने नेपाली कांग्रेस भेरीगंगा नगरसभापति रामबहादुर सिँहले बताउनुभयो । गएको साउनमा छात्रवृतिका लागि गरिएको विज्ञापनमा दरखास्त दिने विध्यार्थीहरू मध्येबाट लिखित र मौखिक परिक्षामा उतीर्ण विद्यार्थीलाई छात्रवृति दिईने उहाँको भनाई छ । पुष २७ गते नेपाली कांग्रेस सांसद छात्रवृत्ति योजना अक्षयकोष छनौट समितिको वैठकबाट ६४६ जना विद्यार्थीलाई छात्रवृति दिने निर्णय भएको थियो ।

नेपाली कांग्रेस सांसद गरीव कल्याण छात्रवृत्ति योजना अक्षयकोषले हरेक बर्ष क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्दै आएको छ । कोषमार्फत यहाँका भेरीगंगा, गुर्भाकोट, लेकबेशी नगरपालिका, सिम्ता गाउँपालिका र विरेन्द्र नगरपालिकाका २ वटा वडाका विद्यार्थीले छात्रवृति पाउने गर्छन् ।