भेरीगंगा, माघ ४- कर्णाली प्रदेशकै नमुना बसपार्कको रुपमा निर्माण सुरु भएको भेरीगगा वडा नम्बर १२ स्थित छिन्चु बसपार्क निर्माण कार्य एक महिनादेखि बन्द भएपछि नगरपालिलको निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको छ । छिन्चुस्थित नेपाली सेनाको ब्यारेकले निर्माण ठेकेदारलाई काम गर्न रोकेपछि भेरीगंगा नगरपालिकाले आजबाट काम सूरु गर्ने गरि निर्देशन दिएको हो ।

हिजो नेपाली सेना, निर्माण कम्पनीसंग नगरपालिकाले गरेको छलफलपछि आजैबाट काम सूरु गर्ने गरि निर्देशन दिएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । बसपार्क निर्माणको पुर्वक्षेत्रको जग्गामा विवाद रहेको भन्दै छिन्चुस्थित नेपाली सेनाको ब्यारेकले निर्माण कार्य अवरोध गरेपछि एक महिनादेखि काम बन्द थियो । बसपार्क निर्माणको कामका लागि ठेकेदारले आजैबाट तयारी थालेको छ । कर्णाली प्रदेशको प्रवेशद्धारका रुपमा रहेको भेरीगंगाको छिन्चुमा बन्ने बसपार्क नगरविकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौतासहित १३ करोड लागतमा निर्माण सूरु भएको थियो ।

करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । बसपार्क आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा लिएको छ ।