सुर्खेत, माघ ४- कर्णाली प्रदेशकै नमुना बसपार्कको रुपमा निर्माण सुरु भएको भेरीगगा वडा नम्बर १२ स्थित छिन्चु बसपार्क निर्माण कार्य एक महिनादेखि बन्द भएको छ । बसपार्क निर्माणको पुर्वक्षेत्रको जग्गामा विवाद रहेको भन्दै छिन्चुस्थित नेपाली सेनाको ब्यारेकले निर्माण कार्य अवरोध गरेपछि एक महिनादेखि काम बन्द भएको हो ।

नेपाली सेनाले विवाद देखाउँदै बसपार्क निर्माण ठेकेदारलाई काम रोक्न धम्की र दवाव दिएपछि काम अवरुद्ध भएको हो । कर्णाली प्रदेशको प्रवेशद्धारका रुपमा रहेको भेरीगंगाको छिन्चुमा बन्ने बसपार्क नगरविकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौतासहित १३ करोड लागतमा निर्माण सूरु भएको थियो । नेपाली सेनाले बसपार्कको विषयमा सबै प्रक्रिया पूरा गरेपनि अनावश्यक विवाद गराएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । सोमबार बसपार्क विवादका विषयमा वडा, नगरका जनप्रतिनिधी, स्थानीय वन, नेपाली सेनाबिचको छलफलबाट भोलिबाट बसपार्क काम गर्न दिने सहमती भएको मेयर ढकालले जानकारी दिनुभयो । यो बषपार्कको गएको पुष १ गते भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले एक कार्यक्रमका बिच बसपार्क निर्माणको शिलन्यास गर्नुभएको थियो । नगर विकास कोष र नगरपालिका बिच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर भएपछि बसपार्क शिलान्याससंगै निर्माण सूरु भएको हो ।

करिब ३३ रोपनी क्षेत्रफलमा निर्माण हुने यस आयोजनाबाट हाल बजारमा अव्यवस्थिरुपमा संचालन भैरहेको लामो तथा छोटा दुरीका सवारी साधनहरुलाई व्यवस्थित गर्न तथा आधुनिक पूर्वाधारयुक्त वसपार्क सेवा सुविधा प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । बसपार्क आयोजनालाई कर्णाली प्रदेशकै नमूना आयोजनाको रुपमा लिएको छ ।